नासीब महतो कावासोती । पछिल्लो समय थारु समुदायको परम्परागत पहिचान बोकेका रैथाने घरहरु लोप हुन थालेका छन । थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन ।‘आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन’, कावासोती नगरपालिका १७ का स्थानीय देविका महतोले भनिन् – काठबाट बन्ने घर बन्न छाडिसकेका छन ।’ काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत गरिएका हुन्छन । घर छेउमै गाईभैंसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन । तर अहिले भने डगौरा, चौधरी थारू र रानाथारू समुदायको बस्ती यस्ता घर देखिन छाडेका छन । पूर्वी नवलपरासी नवलपुरको कावासोती, मध्यबिन्दु, देवचुली, गैंडाकोट लगायत क्षेत्रमा थारु समुदायको बाक्लो बस्ती छ । पहिले परम्परागत रुपमा यस समुदायले निर्माण गर्ने घरहरु र पछिल्लो समय निर्माण भएका घरहरुमा हामी धेरै अन्तर पाउँछौँ कारण हो, यस समुदायको बिलासी जिवन जिउन चाहनु । पछिल्लो समय परिवारका सदस्य बैदेशिक रोजगारमा जाने अथवा पेशा व्यवशायबाट राम्रो आर्थिक स्तर उकासिए सँगै उनीहरुको ईच्छा आकाङ्क्षामा समेत परिवर्तन आउनुले पनि यस समुदायको पुराना घरहरु लोभ हुदैँ जान थालेको छ
धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको थारु पत्रकार संघ नवलपुर जिल्ला अध्यक्ष खेमनारायण महतोको भनाइ छ । ‘घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो, तर अहिले गोरु, गाई, भैँसीपालन नै हराउन थालेको छ’ उनले भने, ‘सहजै काठ पाइदैन, धेरै जसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन ।’ उनका अनुसार विगतमा यस जिल्लाका थारु समुदाय एउटै परिवारमा सय÷डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १० र १५ जनाको परिवार पनि भेटिँदैन । ‘विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन, बिहे गरेपछि छुट्टिएर बसिहाल्छन,’ उनले भने । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको थारु पत्रकार संघ नवलपुर जिल्ला अध्यक्ष महतो बताए । ‘अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यतिमात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँमा भेट्न मुश्किल पर्छ’ उनले भने, ‘सहजै काठ, छाउने खपेटा, खरखडाई पनि पाइदैन, विगत भन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैंको रोजाईँमा छ ।’ कच्ची घर वर्षेनी लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्ने लगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएको स्थानीयको भनाइ छ । पहिले पहिले अधिकांश चैत वैशाखमा थारू समुदायको माटोको घर मर्मत तथा पुनःनिर्माणको काम हुने गर्दथ्यो । ‘अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गर्ने चलन थियो ।’ महतोले भने ।
थारु समुदायको परम्परागत घरहरु लोभ हुनुको प्रमुख कारण स्थानीयस्तरमा उत्पादित लोकल सामाग्रीको सहज उपलब्धता नरहेको होमस्टे महासंघ गण्डकी प्रदेशका अध्यक्ष धनिराम गुरौँले बताए । उनी भन्छन,– ‘पहिले परम्परागत घर निर्माणका लागि आवश्यक बाँवियो, दाउरा, काठका सामागी्र चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनहरुद्वारा सहजै उपलब्ध हुन्थ्यो, तर पछिल्लो समय निकुञ्जले प्रवेशमा रोक लगाए सँगै परम्परागत घरहरु जोगाउन मुस्किल भएको छ ।’ जनसंख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् ।
थारु समुदायको मुख्यतयः पहिचान बोकेका यस क्षेत्रका रैथाने घर संरक्षणसँगैँ कला, धर्म, संस्कृतिलाई होमस्टेको माध्यमबाट संरक्षण कार्यमा आफूहरु जुटिरहेको कावासोती नगरपालिकाको पूर्व नगर उप–प्रमुख प्रेमशङकर मर्दनिया थारुले बताए ।
अहिले परम्परागत घरहरुमा हुने खर, बावियो, खपेटा लगायत सामाग्री र निर्माण गर्न आवश्यक सामाग्रीको सहज रुपमा नपाईने र दीर्घकालीन रुपमा टिकाऊ समेत नहुँने हुँदा थारु समुदायले पछिल्लो समय कंक्रिटका सामाग्रीको प्रयोग गरी आधुनिक शैलिका घरहरु निर्माण गर्नेगरेको मर्दनियाले बताए ।परम्परागत पहिचान बोकेका थारु समुदायको रैथाने घरहरु संरक्षण लागि सम्बन्धित पक्षसहित संरक्षण कार्यमा थारु समुदाय पनि अग्रसर हुन आवश्यक रहेको उनी बताँउछन् ।